शर्त सहित छायाँकनको अनुमति

फिल्म । भारतको महाराष्ट्र सरकारले फिल्म छायाँकनको लागि अनुमति दिएको छ । सरकारले तोकेको शर्त पालना गर्दै कोरोना भाइरस (कोभिड १९) को जोखिम कम भएको स्थानमा अब छायाँकन गर्न पाइने भएको हो । भारतमा लामो समयदेखि जारी लकडाउनका कारण फिल्म, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको अवस्थामा सरकारले इजाजत दिएसँगै युनिटले तयारी सुरु गरेका छन् ।

राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्मातालाई काम गर्न आग्रह गरिएको छ । यसलाई वेवास्ता गरे कडा कारवाही गरिने चेतावनी सरकारले दिएको छ । महाराष्ट्र सरकारले १६ पेज लामो गाइडलाइन प्रस्तुत सहित इजाजत दिएको हो । नयाँ नियमअनुसार छायांकन सेटमा बढीमा ३३ प्रतिशत मात्र युनिट रहन पाउँनेछन् । निर्माताहरूलाई महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्रनगरीका साथै मुम्बई बाहिर छायाँकनको लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिनुपर्ने शर्त सहित छायाँकनको अनुमति दिइएको हो ।

सेटमा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, सेटमा सामाजिक दुरी कायम गर्नुपर्ने, छायाँकनको समयमा भिड जम्मा गर्न नपाइने, सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, गर्भवती कलाकारलाई सेटमा ल्याउन नपाइने, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायाँकन गराउन नपाइनेलगायतका नियम छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्