फिल्म । अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’ नयाँ, पुराना र डेब्यु कलाकारको सशक्त सहकार्यमा तयार भएको छ । अघिल्लो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारको उपस्थितिका कारण यो फिल्मलाई ‘कम्प्याक्ट टिम’को फिल्मका रूपमा हेरिएको छ । कुनै समय सानो र ठूलो पर्दामा एकछत्र राज गरेका कलाकारदेखि समाजका नयाँ अनुहारसम्म यो फिल्ममा देख्न सकिन्छ । दुई दशकअघि टेलिभिजन पर्दामा अत्यन्त लोकप्रिय रहेका गणेश उप्रेती लामो समयपछि यही फिल्ममार्फत पुनरागमन गर्दैछन् । उनी ठूलो पर्दामा पनि त्यत्तिकै चर्चित अभिनेता हुन् । त्यस्तै, आफ्नो समयका ‘स्टार अभिनेता’ मानिने रमेश उप्रेती पनि फिल्ममा प्रमुख भूमिकामा छन्।
निर्देशक अर्जुन घिमिरे (पाँडे) का लागि यो पहिलो फिचर फिल्म निर्देशन हो । यद्यपि, ‘सक्किगोनी’ जस्ता लोकप्रिय टेलिसिरियल निर्देशन तथा अभिनय गरिसकेकाले उनको अनुभव फिल्ममा देखिने विश्वास गरिएको छ । कमेडीमा बलियो पकड भएका घिमिरेको शैलीले ‘झरिपछिको इन्द्रेणी’ हेर्नलायक फिल्म बन्ने अपेक्षा गरिएको छ ।
फिल्ममा कुशल निर्देशक तथा कलाकार दीपाश्री निरौलाको पनि अभिनय रहेको छ । साथै, विमोचन दवाडी र जेसिका पोखरेलले यही फिल्मबाट डेब्यु गर्दैछन् । नयाँ अनुहार र नयाँ अभिनयले दर्शकलाई ताजापन दिने निर्माण पक्षको विश्वास छ । यसअघि केही फिल्ममा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य (मुन्नी) पनि फिल्ममा समावेश छिन् ।
प्रियना आचार्यका अनुसार फिल्मले वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनता र देशमा पारेको प्रभाव तथा जेन–जी पुस्ताको सोच र आक्रोशलाई प्रस्तुत गरेको छ । डेब्यु अभिनेता विमोचन दवाडी पनि फिल्मले आफूलाई नेपाली रजतपटमा स्थापित गर्ने विश्वास व्यक्त गर्छन् । यही फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेत्री जेसिका पोखरेल रिलिजका हिसाबले यो पहिलो भए पनि कामका हिसाबले दोस्रो फिल्म रहेको बताउँछिन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन् । छायांकनका लागि उनी अमेरिका छोडेर नेपाल फर्किएका थिए ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायत कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि देखिनेछन् । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ ।
आगामी पौष ४ गते देशव्यापी रूपमा रिलिज हुने फिल्म ‘झरिपछिको इन्द्रेणी’को कथा निर्देशक अर्जुन घिमिरे स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका छन् । फिल्मका छायाँकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेकी फिल्मका सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।










