सर्लाहीमा थपिए ३८ संक्रमित

देश । पछिल्लो विवरण अनुसार सर्लाहीमा ३८ जना नयाँ संक्रमित पुष्टी भएका छन् । सर्लाहीबाट पठाईएको स्वाब परीक्षणका क्रममा सोमबार थप ३८ जनामा कोरोना भाईरस पोजेटिभ पाइएको हो । योसँगै सर्लाहीमा १०८ जना संक्रमित पुगेका छन् । सोमबार संक्रमित भेटिएकाहरुमा कविलासी नगरपालिका अन्तर्गत अगर्वा बजार स्थित जनता माविको क्वारेन्टिनमा राखिएका ३६ जनाको संक्रमित पाइएको हो । यसैगरी , हरिपुर नगरपालिकाको क्वारेन्टिनमा बसेका २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

पछिल्लो संक्रमित सबै भारतबाट नेपाल आएको र क्वारेन्टाइनमा बस्दै आतेका रहेको जिल्ला प्रमुख अधिकारी मोहन बहादुर जिसीले बताएका छन् । प्रदेश सरकारले सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजमा निर्माण गरेको ५० बेडको आईसोलेसन समेत भरिएपछि आगामी दिनमा सम्बन्धित स्थानीय तह स्वयंले स्थानीय स्तरमै आईसोलेसन बेड तयार पारेर संक्रमितलाई राख्ने व्यवस्था मिलाउने बताईएको छ । यसैले गर्दा कविलासी र हरिपुरका संक्रमितको उपचार स्थानीय तहमै आइसोलेसन निर्माण गरेर हुनेछ ।

सर्लाहीमा सबैभन्दा पहिला कोरोना भाईरस पोजेटिभ देखिएका धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोर वीरगंजबाट निको भएर घर फर्किसकेका छन् भने बागमती नगरपालिका–९ निवासी युवक काठमाडौंबाटै निको भएर घर फर्किएका छन् । बाँकी अन्य संक्रमितहरुको काठमाडौं, जनकपुर, वीरगंज र सदरमुकाम मलंगवा सहित सम्बन्धित स्थानीय तहले तयार पारेको आइसोलेसनमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्