राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

विदेश । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको थियो ।

स्वास्थ्यमन्त्री हेनरिकले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आ–आफ्ना प्रदेशमा लकडाउन गरेको भन्दै गभर्नरहरुको प्रशंसा पनि गरेका थिए । यद्दपी ब्राजिलका राष्ट्रपति भने यी कुराहरुबाट सहमत नभई लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने बताउदै आएका छन् ।

राष्ट्रपति र स्वास्थ्यमन्त्री बीच विचारमा मतभेद हुँदा आफू बर्खास्त भएको जानकारी हेनरिक आफैंले ट्वीट मार्फत दिएका छन् । स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरिएको सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ । ब्राजिलमा ३० हजार ६ सय ८३ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा कोरोना भाइरससँगको लडाई लड्दै १४ हजार २६ जना संक्रमण मुक्त भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्