फिल्म । चीनको वुहानबाट सुरु भइ विश्वमै महामारीको रुप लिईसेको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा पनि उत्तिकै छ । नेपालमा संक्रमितको संख्या ९ छ भने १ जना निको भएर फर्किसकेका छन् । नेपालमा समुदाय स्तरमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिइ सकेको अवस्थामा जन जीवन प्रभावित छ । देश गत चैत्र ११ गते देखि नै लकडाउनमा छ ।
कोरोना भाइरसले गर्दा समस्यामा रहेका सदस्यलाई राहत दिने घोषणा चलचित्र पत्रकार संघ , नेपालले गरेको छ । देश लकडाउनमा रहेका कारण संघको अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बसेको कार्यसमितिको डिजिटल बैठकले यस्तो निर्णय गरेको हो । ‘हामीनै हाम्रो लागि’ भन्ने अभियानका साथ चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्यामा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने निर्णय गरिएको महासचिव समीर बलामीले जानकारी दिएका छन् ।
कोरना भाइरस जोखिमका कारण लकडाउनले समस्यामा रहेका श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागिएको हो । नव निर्वाचित कार्यसमितिले नै पहिलो चरणमा राहत वितरणमा सहयोग गर्ने समते जनाईएको छ । साथै संघले समस्यामा रहेका सदस्यलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।










