इन्टरनेटको प्रयोग बढ्यो

देश । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सकेसम्म घरमै बस्न आग्रह गरेका छन् । उनले यो समस्यामा एकार्कालाई सहयोग गर्दै अगाडी बढ्न समेत आग्रह गरेका छन् । उनले इन्टरनेटको माध्यमबाट गर्न सकिने काम घरमै गर्न पनि सुझाएका छन् । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको, संक्रमणबाट बच्न मानिस घरमै बस्न थालेको र धेरै कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएपछि यतिबेला इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।

तीन दिनयता इन्टरनेट ब्यान्डविथ प्रयोग ३० प्रतिशतसम्म बढेको छ । ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । इन्टरनेटमा कोभिड–१९ प्रभाव परेपछि सेवा प्रदायकहरूको बैठकले शुक्रबार उपभोक्तालाई संयमित भएर इन्टरनेट प्रयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।

यहि रफ्तारमा इन्टरनेटको प्रयोग बढ्दै गए राति ८ देखि १२ बजेसम्म इन्टरनेटको गति सुस्त हुन सक्ने उनको अनुमान छ । उपभोक्तालाई अनलाइनमार्फत इन्टरनेटको भुक्तानी गर्न पनि आग्रह गर्ने निर्णय गर्दै इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताको घरमा इन्टरनेट बिग्रिए अनलाइनबाट गर्न सकिने जति समाधान गर्ने तर घरघरमा गएर मर्मत नगर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्