फिल्म । बलिउड अभिनेत्री दिशा पाटनी पछिल्लो रिलिज फिल्म ‘मलंग’ को सफलतामा रमाइरहेकी छन् । जब एक फ्यानले दिशासँग ट्विटरमा सोधे, ‘तपाईंको आगामी प्रोजेक्ट कुन हुनेछ । हामी तपाईंलाई एक्सन फिल्ममा देख्न पाउँछौं ? ’यो प्रश्नको जवाफमा दिशाले भनिन्, ‘म एक्सन फिल्म गर्न उत्सुक छु । म विभिन्न प्रकारका भूमिकामा प्रयोग गर्न चाहन्छु। अनि केही नितान्त फरक भूमिका पनि गर्न मन छ।’ उनले आफु एक्सन फिल्मको लागि तयार रहेको जनाउ दिइन ।
पछिल्लो समय टाइगर श्रोफ अभिनित फिल्म ‘बागी ३’ मा आइटम गीतमा देखिएकी दिशा आफ्नो फिटनेसको कारण चर्चामा आउने गर्छिन् । दिशालाई पछिल्लो पुस्ताकी हट एक्ट्रेसको रुपमा समेत चिन्ने गरिन्छ । अहिले सलमान खानसँग ‘राधे’ मा काम गरिरहेकी दिशा मोहित सुरीको आगामी फिल्म ‘एक भिलेन– २’ मा देखिने खबर पनि बाहिरिएको छ ।
सन् २०१४ मा निर्माण भएको ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो । निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका छन् । अब, दिशाको समेत प्रवेश भएसँगै यसको टिम अझै पावरफूल बनेको छ । यसमा दिशा नायक अव्राहिमको जोडीको रुपमा देखिन लागेको चर्चा छ । यसमा दिशाको खतरनाक एक्सनका दृश्य हेर्न सकिने यो फिल्म सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ । (एजेन्सी)












