फिल्म । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा ‘ओ प्रिय’ बन्ने भएको छ । मंगलबार कमलादी मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । ’सिनेम्याक्स लण्डन’को ब्यानारमा बन्ने फिल्ममा ‘विरान्जना इन्टरटेन्टमेन्ट’ र ’इबिएस फिल्मस्’ले सहकार्य गरेका छन् । निर्देशक बोहराकै लेखन रहने उक्त फिल्मकी मुख्य निर्मात्री हिराल जोशी हुन् ।
सृजना जोशी कार्यकारी निर्माता रहने यस फिल्ममा सबिता गुरुङ सह–निर्माताको रुपमा रहेकी छिन् ।वास्तविक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको यस फिल्मको लागि कलाकारको छनोट भने भइसकेको छैन । हाल कलाकार छनोटको काम भइरहेको निर्देशक बोहराले बताए । सन् २०२० को मे महिनाबाट छायांकनको तयारीमा रहेको यस फिल्मलाई नेपाल, लण्डन, क्यानडा लगायतका ठाउँमा खिचिने छ ।
यसलाई सन् २०२१ को भ्यालेनटाइन डेमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको छ । भैरे मार्फत निर्देशनमा कमब्याक गरेका सुर्यले घोषणा गरेका केहि फिल्म भने घोषणामै सिमित छन् । भैरे–२ , आइडी नम्बर ८८४८ र चलखेल लगायतका केहि फिल्म उनको घोषणामै सिमित छ । यद्दपी उनले निर्देशन गरेको ‘हेल्लो जिन्दगी’ भने प्रदर्शनको लागि तयार छ । यहिँ फागुनमै प्रदर्शन गर्ने तयारी भएता पनि फिल्मको केहि छायाँकन बाँकी रहदा प्रदर्शन तय हुन् सकेको छैन ।










