गसिप । भिजिट नेपालमा कोही सेलिब्रिटीलाई ब्रान्ड एम्बेसडर बनाउनुछ भने वर्षा राउतलाई समाते हुन्छ । उनले बिहेयता जति देश–विदेश भ्रमण गरेकी छिन्, त्यति त ‘प्रोफेसनल’ घुमन्ते पनि घुम्दैन । ‘जात्रैजात्रा’को सुटिङ सकेर सञ्जोगसँग विवाह गरेकी वर्षा फिल्म रिलिज भएपछि यही फिल्मको रिलिजका लागि धेरै ठाउँ पुगिन् । अस्ट्रेलियामा हनिमुन मनाएकी वर्षा जन्मदिन मनाउन माल्दिभ्स पुगेकी थिइन् । नेपालमै पनि एभरेस्ट बेसक्याम्पदेखि अन्नपूर्ण ट्रेकसम्म पनि वर्षाले यही बीचमा यात्रा गरिसकिन् । सानोतिनो कार्यक्रमका लागि देशका साना–ठूला शहर जानु त सामान्य भइहाल्यो ।
यति धेरै घुमेको वृत्तान्त सुनेपछि धेरैलाई लाग्दो हो, वर्षाले घुम्नमा पैसा खर्च गरिरहेकी छिन् । तर, होइन । उनले यो घुमघामबाट उल्टै पैसा कमाइरहेकी छिन् । बिहेलगत्तै श्रीमान्सँग मिलेर सान्सा नामको युट्युब च्यानल खोलेकी वर्षाले घुम्नेदेखि लिएर आफूले गर्ने हरेक कुराकानीको भिडियो बनाएर युट्यबुमा राख्ने गरेकी छिन् । एक पन्थ दो काज ! एकातिर घुमघाम पनि हुने अर्कोतिर कमाइ पनि हुने । सबैभन्दा ठूलो फाइदा फिल्म छैन भनेर दुःखी हुन पनि नपर्ने ! (सम्पूर्ण साप्ताहिकबाट साभार)










