देश । केहि दिन यता उखु किसानको आन्दोलनले जनताको साथ् पाइरहेका छन् । आम जनता पनि कृषकले छिटै भुक्तानी पाउनु पर्नेमा छन् । तर , कृषि प्रधान देशमा कृषकलाई नै सास्ती छ । गत दुइ हप्ता यता सर्लाही -४ का किसान काठमाण्डौमा आएर आन्दोलन गर्न बाध्य छन् । तराइमा खेति किसानीमा समय दिनु पर्ने समयमा काठमाण्डौको चिसोसँगै चिनी मिल सञ्चालकसँग लड्न बाध्य छन् । यसैक्रममा उखु किसानले गोडैतामा रहेको महालक्ष्मी सुगर मिलमा तालाबन्दी गरेका छन् ।
अघिल्लाे वर्षको २१ करोड बक्यौता रकम तत्कालै भुक्तानी नगरेसम्म मिल चल्न नदिने भन्दै सर्लाहीको किसानले यस्तो गरेका हुन् । बिहीबार दिउँसो उद्याेग परिसरमा जम्मा भएका किसानहरुले आउँदाे सोमबारसम्म पनि बक्यौता रकम भुक्तानी नगरे अनिश्चितकालको लागि तालाबन्दी गरेर थप संर्घषका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । बक्यौता रकम भुक्तानी गर्न आफूहरुले पटक पटक आग्रह गर्दासमेत उद्योग सञ्चालक वीरेन्द्र कनोडियाले वेवास्ता गरेका कारण मिलमा तालाबन्दी गर्नुपरेको स्थानीय किसानहरुले बताएका छन् । उखु किसानहरुले उद्योगसँग २१ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । तर , उद्योग सचालक कनोडियाले भने किसानलाइ १६ करोड रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन् ।
गएकाे वर्षबाट क्रसिङ सुरु गरेको उद्याेगले पहिलो वर्षमा नै यसरी भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका छन्। सरकारले उखु बालीलाई नगदे बाली घोषणा गरेको भए पनि एक वर्षसम्ममा भुक्तानी नपाउँदा घर खर्च टार्न मुस्किल परेको गुनासो किसानहरुको रहेको छ । त्यसैगरी सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले पनि किसानको तीन वर्षदेखिको ५१ करोड बक्यौता रकम भुक्तानी गर्न नसकेकाले अहिलेसम्म मिल सञ्चालन हुन सकेको छैन । सर्लाहीमा यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ ।










