‘प्रेमगीत ३’ मा यस्तो देखिए ‘राते काइँला’

फिल्म । एकपछि अर्को गर्दा फिल्म ‘प्रेम गीत ३’ ले आफ्नो क्यारेक्टरको लुक्सलाई सार्वजनिक गरिरहेको छ । यसै क्रममा फिल्मका कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले शुक्रबार ‘राते काइँला’ को रुपमा परिचित सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा कलाकार थापालाई फरक अवतारमा देख्न सकिन्छ । भारी हिउँ परिरहेको पृष्ठभूमिमा उनी यात्री रहेको अनुमान गर्न सकिन्छ । बाक्लो कपडा लगाएका उनले एक पोस्टरमा पौराणिक बाजा (ड्रम) बजाएका छन् । निर्माण टिमले उनको लुक्स त सार्वजनिक गर्यो तर भूमिका भने खुलाएको छैन । फिल्ममा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् । फिल्ममा अनुभव रेग्मीलाई अभिनेता प्रदीपको बाल्यकाल (प्रेम) र योगीशा खत्रीलाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा देख्न पाइनेछ ।

चैत २८ मा प्रदर्शन हुने ‘प्रेमगीत ३’ मा प्रेम पुरी, लक्ष्मी बर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । सन्तोषकै निर्माण रहेको ‘प्रेमगीत ३’ डेढ सय वर्ष पुरानो प्रेमकथामा निर्माण हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्