मल्टिप्लेक्समा ‘मारुनी’ लाई किन कम शो ?

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको भारतिय फिल्म ‘साहो’को चर्चा चुलिँदो रहँदा नेपाली हलहरुमा यसकै बाहुल्यता देखिएको छ । संगै प्रदर्शनमा आउँने नेपाली फिल्म ‘मारुनी’ लाई मल्टिप्लेक्सले कम शो उपलब्ध गरायेजा छन् । तर , यो पहिलो पटक भने होइन । विदेशी ठुलो फिल्म आउँदा नेपालका मल्टिप्लेक्स संचालकले स्वदेशी फिल्मलाई प्राथमिकतामा राख्ने गर्दैनन् । यस्तै अवस्थाको भोगेको छ ‘मारुनी’ ले पनि । नेपाली फिल्म बजारमा बर्ष २०७६ को प्रतिक्षित मध्येको एक फिल्म हो ‘मारुनी’ ।

नवल नेपालको निर्देशनमा बनेको फिल्मप्रति समग्र उधोग र फिल्मकर्मी आशावादी बन्दा हलहरुबाट भने फिल्म चेपुवामा परेको छ । शोज कम पाउँदा फिल्मको इनिसियल बिजनेसमा प्रत्यक्ष असर पर्ने निश्चित छ । साम्राज्ञी आरएल शाह , पुष्प खड्का , रेविका गुरुङ लगायतको अभिनय रहेको फिल्म ‘मारुनी’ ले सामाजिक संजालमा राम्रै चर्चा पाएको छ । तिनै मल्टिप्लेक्समा साम्राज्ञी अभिनित अघिल्ला फिल्मले राम्रो व्यापार पनि गरेका छन् । तर , विदेशी फिल्ममा हल संचालकको पनि अप्रत्यक्ष रुपमा लगानी पर्ने भएकाले स्वदेशी फिल्म मारमा पर्ने गर्छन ।

स्वदेशी फिल्मलाई शो त कम दिन्छन् नै , टाइम पनि उस्तै हुन्छ । ‘मारुनी’लाई क्युएफएक्सले काठमाडौंमा जम्मा ७ शोज र मोफसल चेनमा ६ शोज मात्रै उपलब्ध गराउँदा ‘साहो’लाई काठमाडौंमा ३७ र मोफसलमा २४ गरि ६१ शोज दिएको छ । यस्तै अर्को ठुलो मल्टिप्लेक्स बिग सिनेमाले ‘साहो’लाई १२ शोज उपलब्ध गराउँदा ‘मारुनी’लाई २ शोज मात्र दिएको छ भने एफक्युबमा ‘साहो’ले १३ पाउँदा ‘मारुनी’ २ शोजमा सिमित छ भने क्यूज सिनेमा र सिडिसी सुन्धाराले ‘मारुनी’लाई जम्मा १ शो दिएका छन् भने दुबै हलमा ‘साहो’ले क्रमशः १० र ९ शोज पाएको छ ।

नेपाली फिल्म यसैगरी आफ्नै देशमा प्राथमिकतामा नपर्दै गरेको यो पहिलो पटक होइन । विदेशी फिल्मलाई अत्यधिक शो दिने र नेपाली फिल्मलाई बे-टाइममा पनि कम शो दिने मल्टिप्लेक्स संचालकको पुरानै आदत हो । तर , यस विषयमा सम्बन्धित संघ , संस्था र निकाय नबोल्दा मल्टिप्लेक्स संचालकको मनोमानी नै हावी छ ।

कमेन्ट गर्नुहोस्