फिल्म । प्राय आफ्नो काममा व्यस्त हुने कलाकारलाई यातिबेला चुनावले छोएको छ । कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि नेतृत्वको चयन हुँदैछ । यसैले गर्दा पनि कलाकारहरु आ-आफ्नो उम्मेदवारीको लागि भोट माग्न व्यस्त छन् । अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् ।
महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ । सचिव पदमा तीन जनाको उम्मेदवारी छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी यो पदलाई भिड्दैछन् । यता कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् भने सह-कोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा उत्रिएका छन् । सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन् । विहिवार रविन्द्र खड्काले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
आफ्नो योगदान चार दशक यता फिल्मी क्षेत्रमा रहेको भन्दै अध्यक्षका प्रत्यासी खड्काले संघको भवन आफ्नो लक्ष्य र उद्येश्य रहेको बताए । त्यसो त सामाजिक सञ्जालमै उनको नेतृत्व संघमा आएमा भवन निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता आइसकेको छ । अध्यक्षका प्रत्यासी खड्काले कलाकार सदस्यहरुको जीवन बीमा गराउने, कलाकारहरुको आर्थिक समृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, अशक्त कलाकारहरुका लागि आर्थिक स्तरोन्नत्ति गर्न पहल गर्ने, सरकारद्वारा यस वर्षको बजेटमा घोषणा गरिएको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, फान अवार्डलाई निरन्तरता दिने, संघलाई राजनीति र राजनैतिक विचारबाट अलग राख्ने उनले सार्वजनिक गरेको २१ बुँदे प्रतिवद्धता पत्रमा उल्लेख छ ।
उनलाई अध्यक्षमा समर्थन गर्न कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार विनोद कुमार भट्टराई , मनोज कुमार केसी र रेजिना उप्रेती, महासचिव पदका उम्मेदवार चेतबहादुर सिंह, सचिव पदकी प्रत्यासी पनाह अधिकारी, कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका सुनिल कटुवाल, सह-कोषाध्यक्षमा उम्मेदवारी दिएकी पवित्रा आचार्य उपस्थित भएका थिए ।












