फिल्म । आउँदो जेठ ३१ गतेलाई प्रदर्शन तय गरिएको योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत छ । गीतमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा प्रियंका र आयुष्मानसंगै विशाल खरेल मुख्य भूमिकामा छन् । विशालले यसै फिल्म मार्फत डेब्यु गर्दैछन् ।
प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा फिल्म केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।










