कमेन्ट गर्नुहोस्
आसुसेन फिल्मस्लाई चाहियो ‘गीत’

फिल्म । दर्शकले रुचाएको सिरिज हो -‘प्रेमगीत’। यसै सिरिज मार्फत सन्तोष सेन निर्माताको रुपमा स्थापित भए भने प्रदीप खड्कालाई पनि यहि सिरिजले स्टार बनायो । गीतसंगीत सफल भएकै कारण फिल्मले दर्शकको साथ् पायो । फिल्मले आसुसेन फिल्मलाई स्थापित गर्न त सफल भयो तर घाटाबाट भने बचाउन सकेन । तर , पनि निर्माता सन्तोष सेन लगातार यसको सिरिज निर्माणमा छन् । ‘प्रेमगीत २’ पछि निर्माता सेन यसको तेस्रो सिरिजको तयारीमा छन् । फिल्ममा प्रदीपले नै प्रेमको रुपमा निरन्तरता पाउने पक्का भईसकेको छ भने यतिबेला गीतको खोजि निर्माण पक्षले गरिरहेको छ ।
दोस्रो सिरिजमा नायिकाको विषयलाई लिएर चर्को टिप्पणी भएपछी यतिबेला निर्माण पक्षले कास्टिङ कल गरेको छ । छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्ने फिल्मको लागि अब नयाँ अनुहार लिने भएको छ । फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको हो । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख छ । आउँदो जेठ १० गतेसम्म www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा filmsaasusen@gmail.com मा सम्पर्क गर्न सकिने निर्माण पक्षद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
फिल्मको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ । आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । यस फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि फिल्मको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनले बताएका छन् । निर्माण पक्षले मोडल नीति शाहलाई ‘गीत’ बन्न अफर गरेको थियो तर उनले फिल्म नखेल्ने भएपछी कास्टिङ कल गरेको छ ।






