फिल्म । विराज भट्ट नेपाली फिल्म प्रेमी माँझ परिचित नाम हो । दशक अगाडी उनि एक्सन स्टारको ट्यागमा थिए । उनको एक्सनलाई दर्शकले रुचाउथिए भने निर्माताको लगानी सुरक्षित गर्थ्यो । उनलाई पोष्टरमा देखेकै भरमा वितरकले निर्मातालाई राम्रो रकम अफर गर्थे । तर , विराज नेपाली फिल्मसँगै भोजपुरी फिल्ममा पनि आकर्षित भए ।
भोजपुरी फिल्ममा व्यस्त हुन् थालेपछि विराज लगभग नेपाली फिल्मबाट टाढिए । नेपाली फिल्म निर्माताले अफर गरेनन् या भोजपुरी फिल्मको परिश्रमिकले विराजलाई त्यहाँ टिकाइ राख्यो ? यो त विराजले नै जानुन तर उनि पछिल्लो समय नेपाली फिल्म निर्देशन गर्दैछन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो निर्देशनसँगै निर्माण रहने फिल्म ‘साङ्लो’ घोषणा गरेका छन् ।
घोषणा कार्यक्रममा उनलाई प्रश्न तेर्सिनु स्वाभविक नै थियो , के भोजपुरी फिल्ममा खोजिन कम भएपछी फेरी यतै आउनु भयो ? उनले आफुलाई नेपाली फिल्मसँग लगाव रहेकोले यतै आएको बताए । ‘मैले फिल्म बनाउछु र निर्देशन गर्छु भन्ने सोचेपछि नेपाली फिल्ममै लगानी गर्ने निर्णय गरे’ उनले भने ‘नेपाली फिल्मले मलाइ चिनायो त्यसैले सुरुवात यहिँबाट हुन्छ भने भविष्यमा भोजपुरी फिल्म पनि बनाउनेछु ।’
साथै , उनले गत एक वर्षदेखि फिल्मको तयारीमा लागिरहेको समेत खुलाए । ‘मैले फिल्म निर्माण गर्ने भएपछी कथामा काम गरेको एक वर्ष बढो भइसक्यो’ विराज भन्छन् ‘फिल्म पूर्ण मनोरन्जनात्मक हुनेछ भने यो फिल्म प्रेमी दर्शकलाई लक्षित हुनेछ ।’ फिल्ममा सन् २०१७ कि मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । बैशाख २४ गतेबाट छायांकन सुरु हुने फिल्ममा विराजसँगै प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।
फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता टर्न निर्देशक विराजले बताए । विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाउने छन् । ५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल खप्तडमा फिल्मको छायांकन हुनेछ । यसको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ । विराजलाई निर्देशनमा नवराज शर्माले सघाउने छन् ।












