फिल्म । अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारी सिग्देलले बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । पाँच वर्ष अगाडि आर्यनले आजकै दिन सपनासँग लगनगाठो कसेका थिए । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको यो जोडीले सन्तानको नामांकन पनि गरेका छन् ।
जोडीले छोराको नाम आयान्स राखेका हुन् । यतिबेला सामाजिक सञ्जालमा यो जोडीलाई बधाई दिनेको लर्को नै लागेको छ । फिल्मकर्मी देखि शुभेच्छुकले पुत्रलाभ भएकोमा खुसि व्यक्त गरिरहेका छन् । शनिबार दिउँसोसम्म अस्पतालबाट सपना छोरासहित डिस्जार्च हुने बताइएको छ । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।
दिनेश र सुदर्शनले पनि दिए बधाई
अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउत मिल्ने साथि हुन् । यी दुइले संघर्षका दिनमा एक अर्कालाई सघाएका छन् । दिनेशको डेब्यु फिल्म ‘आइ एम सरी’ मा आर्यन थिए भने आर्यनको निर्माताको रुपमा डेब्यु फिल्म ‘नोभेम्बर रेन’ मा दिनेश निर्देशक । यी दुइले क्लासिकमा पनि काम गरेका छन् । तर , पछिल्लो समय आर्यन र दिनेशको सम्बन्ध राम्रो छैन । सामाजिक सञ्जाल र एकै स्टेजमा यी दुइसँगै देखिएका छैनन् । आपसी मतभेदका कारणसँगै नदेखिएका यी दुइको सम्बन्ध सुमधुर हुने सम्भावना बढेको छ । निर्देशक दिनेशले आर्यनलाई पुत्रलाभ भएसँगै सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा आर्यनले छोरा हेर्दै गरेको तस्वीर पोष्ट गर्दै आफु निकै खुसि रहेको जनाएका छन् ।
यसैगरी आर्यनको करियरमा महत्वपूर्ण नाम हो निर्देशक सुदर्शन थापा । सुदर्शनकै डेब्यु निर्देशन रहेको फिल्म ‘मेरो एउटा साथी छ’ मार्फत आर्यनले आफुलाई स्थापित बनाएका थिए । उक्त फिल्मपछी आर्यनको करियर उकालो लाग्दै गयो । त्यसपछी आर्यन र सुदर्शनले के यो माया हो , मेरो लभ स्टोरी , मधुमास लगायतका फिल्ममा सँगै काम गरेका छन् । लभ स्टोरी फिल्म बनाउन माहिर मानिने निर्देशक थापाले आर्यनको लभरब्वाई क्यारेक्टर स्थापित गराएका हुन् भन्दा फरक नपर्ला । तर पछिल्लो समय यी दुइले पनि आपसी मतभेदका कारणसँगै काम गरेका छैनन् । दर्शक मात्र होइन सञ्चारकर्मीले पनि आर्यन , सुदर्शन र दिनेशलाई एउटै तस्वीरमा हेर्न चाहन्छन । सुदर्शन र दिनेशको एक्सन कटमा आर्यनको अभिनय कहिले हेर्न पाइने हो ? यो भने आउँदा दिनले नै बताउनेछ ।










