फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्माण पक्षका अनुसार शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने बिहानैदेखि देशभर हाउसफुल बराबर व्यापार गरेको छ । राजधानी र मोफसलका अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्सहरुमा फिल्मको व्यापार उत्साहजनक छ । यसै बीच चावहिल स्थित गोपीकृष्णमा बिहान ११ बजे ३ वटा हल र दिउँसो २ बजेको सोजमा ५ वटा हलमा दर्शक खचाखच थिए ।
गोपीकृष्णका म्यानेजर प्रदीप दाहालले ‘छक्का पञ्जा ३’ पछि ठूलो ओपनिङ ‘क्याप्टेन’ ले गरेको दाबी गरेका छन् । साथै , अनमोल दर्शकलाई धन्यवाद दिन गोपीकृष्णमा राष्ट्रिय झण्डा सहित हाल पुगेका थिए । फिल्म मार्फत देशको क्याप्टेन बनेर नाम कमाउने अनमोलले राष्ट्रियताको एकतामा दर्शकलाई बाँधे । उनको साथमा पिता भुवन केसी पनि थिए । फिल्मका दुई अभिनेत्री प्रियंका एमभी र उपासना सिंह ठकुरी पनि अनमोलको साथमा नै गोपीकृष्ण हल पुगेका थिए । सम्पूर्ण टीमले फिल्म हेरेर निस्किएका दर्शकको प्रतिक्रिया लिदै धन्यवाद दिए ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।










