फिल्म । सञ्जय लीला भन्सालीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘लभ एन्ड वार’बाट अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको पहिलो लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा रणवीर र आलियालाई निकै ‘इन्टेन्स’ अवतारमा प्रस्तुत गरिएको छ।
निर्माण पक्षले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै ‘त्यो रुतबा, त्यो रौब, त्यो जुनून’ भन्दै फिल्म सन् २०२७ जनवरी २१ मा प्रदर्शनमा आउने जनाएको छ। फिल्ममा रणवीर र आलियासँगै विक्की कौशल मुख्य भूमिकामा छन् । भन्सालीको निर्देशनमा निर्माण भइरहेको फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा सन् २०२७ जनवरी २१ मा विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।
‘लभ एन्ड वार’मार्फत रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल पहिलो पटक एकसाथ पर्दामा देखिँदै छन् । रणवीर र आलियाले यसअघि भन्सालीसँग काम गरिसकेका छन् । रणवीरले भन्सालीकै निर्देशनमा बनेको ‘सांवरिया’मार्फत सन् २००७ मा बलिउडमा डेब्यु गरेका थिए। आलिया भट्टले सन् २०२२ मा प्रदर्शन भएको भन्साली निर्देशित ‘गङ्गुबाई काठियावाडी’मा अभिनय गरेकी थिइन्। विक्की कौशलका लागि भने ‘लभ एन्ड वार’ भन्सालीसँगको पहिलो सहकार्य हुनेछ।











