सुरु भयो ‘ए मेरो हजुर ५’ को नियमित छायांकन

फिल्म । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित बिहीबारदेखि फिल्मको नियमित छायांकन सुरु गरिएको निर्देशक तथा अभिनेत्री झरना थापाले जानकारी दिइन् ।

यसअघि गत साउन २९ गते निर्माण टिमले ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रस्थान गरेको थियो। त्यहाँ फिल्मका केही दृश्य छायांकन गरिएको थियो। त्यसबेला बडीमालिकाबाटै नियमित छायांकन सुरु गर्ने तयारी थियो।

तर बाजुराका केही स्थानमा छायांकन गरेपछि पशुपतिबाट फिल्मको नियमित छायांकन सुरु गरिएको निर्देशक थापाले स्पष्ट पारेकी छन्। झरना थापाकै निर्देशनमा बन्ने फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्। अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सँगै अभिनय गरेका थिए। उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए।

अनमोल र सुहानासहित फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ। ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ शृंखलामा अभिनय गर्न लागेकी हुन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् वा नयाँ क्यारेक्टरमा देखिन लागेकी हुन् भन्ने निर्माण टिमले खुलाएको छैन।

फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बूलगायतको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

फिल्मको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन्। निर्माण सहायकमा रञ्जित कोइराला छन्। कास्टिङ डाइरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन्।

त्यस्तै, पोस्ट-प्रोडक्सन प्रमुखमा साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप एन्ड हेयरमा रोनिशा अधिकारी छन्। फिल्म नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

कमेन्ट गर्नुहोस्