नीताका लागि अशोकले गाए ‘मेरो दिदी’

फिल्म । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको गीतमा अशोक दर्जीको पनि स्वर छ। अशोक फिल्मका मुख्य कलाकारसमेत हुन्। सार्वजनिक गीतको भिडियोमा नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय गरेका छन्।

कारुणिक भावमा तयार पारिएको गीतले दिदी-भाइबीचको आत्मीय सम्बन्ध र प्रेमलाई प्रस्तुत गरेको छ। विशेषगरी रक्षाबन्धनको प्रसंगसँग जोडिएको दिदी-भाइको मायालाई गीतमा भावुक रूपमा प्रस्तुत गरिएको छ। गीतका शब्द र भिडियोको भावबीच राम्रो सामञ्जस्य देखिन्छ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’मा निर्देशक ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन्।

फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलरको काम साहिल खानले गरेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन्।

फिल्मको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

यसअघि फिल्मको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक भइसकेको छ। उक्त गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् भने हर्क साउदको शब्द र दीपक शर्माको संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

कमेन्ट गर्नुहोस्