फिल्म । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । एक्सन-एड्भेन्चर विधामा निर्माण हुन लागेको फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ । फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ फिल्म निर्माण गर्न लागिएको निर्माण पक्षको भनाइ छ ।
फिल्मको निर्देशन सञ्चारकर्मीसमेत रहेका निर्देशक सुव्रत आचार्यले गर्नेछन् । फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् भने उनी नै प्रस्तुतकर्ता पनि हुन् । दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहनेछन् भने छायाकार हरि हुमागाईं डिओपी (डाइरेक्टर अफ फोटोग्राफी) का रूपमा रहने निश्चित भएको छ ।
फिल्मको मूल भाषा नेपाली हुनेछ । अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले यसलाई मलयालम र हिन्दी भाषामा पनि डब गरिने निर्माण पक्षले जनाएको छ । फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलयालम फिल्म उद्योगसँग आबद्ध रहेको उल्लेख गर्दै मुख्य अभिनेताबारे विस्तृत जानकारी आधिकारिक फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा खुलाइने जनाइएको छ । साथै, मलयालम फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको पनि सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिएका छन् ।
फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवादसहित परिमार्जन गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन् । छायाङ्कन यसै वर्षको फागुन-चैतदेखि सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षका अनुसार फिल्मका अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकारको अभिनय रहनेछ । छायाङ्कन टोलीसहित अधिकांश प्राविधिक पनि नेपाली फिल्म उद्योगकै रहनेछन् भने गीत–सङ्गीत नेपाली सर्जकहरूले तयार गर्नेछन्।
करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ लाई नेपाली फिल्म उद्योगको महत्त्वपूर्ण र भव्य परियोजनाका रूपमा हेरिएको छ। अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन तथा आधुनिक फिल्म प्रविधिको संयोजन गर्दै नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिने यस फिल्मले स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने निर्माण पक्षको विश्वास छ।









