फिल्म । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’ मा अभिनेत्रीका रूपमा रिस्ता गुरुङ अनुबन्धित भएकी छन् । निर्देशक तथा निर्माता चन्द्र पन्तले आइतबार पत्रकार सम्मेलनमार्फत उनलाई फिल्मका लागि औपचारिक रूपमा अनुबन्ध गरेका हुन्। रिस्ता गुरुङ ‘मेरो डान्स युनिभर्स २’की विजेता हुन्। फिल्ममा अनुबन्ध भएपछि उनले राम्रो टिमसँग काम गर्ने अवसर पाउँदा खुशी लागेको बताइन् ।
उनले भनिन्, ‘यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ। पल शाह वा आकाश श्रेष्ठको जोडीभन्दा पनि यो टिमसँग काम गर्न पाउनु नै आफूलाई भाग्यमानी ठान्छु। सबैसँग काम गर्न पाउँदा खुशी लाग्छ, मलाई कसैसँग मात्र काम गर्ने भन्ने छैन ।’
यता निर्देशक चन्द्र पन्तले भने फिल्ममा रिस्ताको जोडी को हुने भन्ने विषयलाई गोप्य राखेका छन् । पत्रकार सम्मेलनमा उनले यसबारे अहिले नै खुलाउन नचाहेको बताए । उनले भने, ‘उहाँ ‘आ बाट आमा २’को हिरोइन हो। अब उहाँको जोडी को हो भन्ने कुरा अहिलेका लागि सरप्राइज नै हो।’
आगामी असोज ३० गते, अर्थात् दसैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्। फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार गरेका हुन्। यो गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल हो।
केही साताभित्रै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार डोको फिल्म्सले महँगो रकममा खरिद गरिसकेको निर्माण पक्षले जनाएको छ।












