फिल्म । गत वर्ष प्रदर्शनमा आएर बक्स अफिसमा सफल भएको ‘मन विनाको धन’ को सिक्वेल निर्माण हुने भएको छ । निर्माण टिमले ‘मन विनाको धन २’ निर्माणको घोषणा गर्दै अभिनेत्री पूजा शर्मा लाई मुख्य भूमिकामा अनुबन्ध गरेको जनाएको छ । फिल्मलाई पहिलो श्रृंखलाका निर्देशक टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा फिल्म निर्माण हुन लागेको हो ।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नेछन् । निर्माण टिमका अनुसार अहिले फिल्मको कथा लेखनको काम भइरहेको छ । फिल्ममा कथा तथा संगीत पनि टंककै रहनेछ । आइतबार पूजा शर्मा र निर्देशक टंक बुढाथोकीबीच फिल्मका लागि कागजी सम्झौता भएको जनाइएको छ । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी गरिएको छ ।
फिल्ममा अन्य कलाकार को-को रहने भन्ने विषयमा निर्माण पक्षले हालसम्म खुलाएको छैन । निर्देशक बुढाथोकीले अहिले प्रि–प्रोडक्सनको काम भइरहेको र अन्य कलाकारलाई पनि क्रमशः अनुबन्ध गरिने बताए ।
उनले भने, ‘हामी अहिले प्रि-प्रोडक्सनको काममा व्यस्त छौँ । सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौँ । अन्य कलाकारलाई पनि क्रमशः अनुबन्ध गर्ने तयारी भइरहेको छ ।’
अभिनेत्री पूजा शर्माले पनि फिल्ममा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘फिल्मको कथावस्तु निकै पारिवारिक छ । आफ्नो भूमिका र टिम मन परेकाले काम गर्न तयार भएकी हुँ ।’
फिल्मको निर्माण विष्णु माया मैनालीले गर्नेछिन् ।












