वासिङ्टन डी.सी.मा आयोजना हुँदै ‘मिस नेपाल नर्थ अमेरिका २०२६’

सौन्दर्य । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ। विगतमा हुँदै आएको ग्रान्ड फिनालेको स्थान परिवर्तन गर्दै यस वर्षको संस्करणका लागि आवेदन आह्वान गरिएको हो।

आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवेदन खुला भएको जानकारी दिएको छ। आठौँ संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको यो प्रतियोगिता यसपटक भने वासिङ्टन डी.सी.मा आयोजना हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार विभिन्न सफल नेपाली कार्यक्रम आयोजना गरिसकेको चन्द्र लामाको कम्पनी युएसए इन्टरटेनमेन्टले लोकल होस्टका रूपमा सहकार्य गर्नेछ।

शैलेन्द्रका अनुसार फिनालेको स्थान परिवर्तन गरिएकाले यस वर्षको कार्यक्रम विगतभन्दा अझ फरक र भव्य हुने अपेक्षा गरिएको छ। साथै, यस संस्करणमा नेपाली फिल्म क्षेत्रसहित अन्य क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति रहने बताइएको छ।

कार्यक्रमको ग्रान्ड फिनाले जुलाई २५ (साउन ९) गते हुने तय गरिएको छ। प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानडामा बसोबास गर्ने १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरूले आवेदन दिन सक्नेछन्।

त्यस्तै, न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक (प्लस टु) वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ। ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुन लागेको हो। इच्छुकहरूले प्रतियोगिताको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

कमेन्ट गर्नुहोस्