फिल्म । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालीसँगै विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथावस्तुलाई चित्रण गरिएको छ । बेरोजगारी मानव विहिन रितिएको पहाड र पानीको समस्या ट्रेलरमा देखाइएको छ । फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए ।
उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो ।’
फिल्म ‘पहाड’ मा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए ।
‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।’
आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।










