बेनिशाको ‘सेतो धरती’ मा रेखा निर्माता

फिल्म । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नाटक ‘सेतो धरती’ आगामी चैत २७ गतेदेखि मञ्चन हुने भएको छ । अमर न्यौपानेको मदन पुरस्कार विजेता चर्चित कृति ‘सेतो धरती’मा आधारित यस नाटकमा अभिनेत्री बेनिशा हमालले पहिलोपटक रंगमञ्चमा डेब्यू गर्दैछिन् । नाटकमा निर्माता रूपमा अभिनेत्री रेखा थापा जोडिएसँगै दर्शकहरूको चासो अझ बढेको छ । हालै सार्वजनिक पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ ।

निर्देशक धितालले यसअघि रेखा थापाकै डेब्यू नाटक ‘मीरा’ निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन् । हाल रिहर्सल भइरहेको नाटकमा बेनिशा हमालसहित फिल्म, थिएटर र एकेडेमीसँग आबद्ध गरी ३० भन्दा बढी कलाकारहरूको सहभागिता रहनेछ। लोकप्रिय उपन्यासमा आधारित भएकाले ‘सेतो धरती’प्रति रंगमञ्चका दर्शक र साहित्य क्षेत्रको विशेष चासो देखिएको छ ।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको ‘मीरा’ र पारिजातको ‘शिरीषको फूल’लाई नाटकका रूपमा मञ्चन गरिसकेको छ, जसमा रेखा थापा र जीवन लुइँटेलजस्ता कलाकारलाई रंगमञ्चमा उतारिएको थियो । कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार एकेडेमीले रंगमञ्च, फिल्म र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित कृतिहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको छ ।

नाटक ‘सेतो धरती’ चैत २७ गतेदेखि वैशाख १९ गतेसम्म मञ्चन हुनेछ । बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे शो हुनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे अतिरिक्त प्रदर्शन गरिनेछ ।

कमेन्ट गर्नुहोस्