‘परालको आगो’ मार्फत सात वर्षपछि फिल्म निर्माण आए सुशील

फिल्म । नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल करिब सात वर्षपछि फिल्ममार्फत कमब्याक गरेका छन् । उनको नयाँ फिल्म ‘परालको आगो’ले यतिबेला उद्योगमा उत्साह र प्रतीक्षा बढाइरहेको छ। लामो अन्तरालपछि निर्माणमा फर्किएका पोखरेलले शक्तिशाली कथा बोकेको ‘परालको आगो’ प्रस्तुत गरेका हुन् । फिल्मका गीत र पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बढेको छ। निर्माताको आत्मविश्वासले पनि फिल्मप्रति सकारात्मक अपेक्षा थपिएको छ।

पोखरेलले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभसब’, ‘राधे’ हुँदै पछिल्लो फिल्म ‘यात्रा’सम्म आइपुग्दा नेपाली फिल्म उद्योगमा महत्वपूर्ण योगदान दिएका छन् । विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले उनको सफलताको प्रमाण दिन्छन् ।

उनी केवल निर्माता मात्र नभई दुई पुस्तालाई जोड्ने सेतुका रूपमा चिनिन्छन्। यसअघि अभिनेत्री झरना थापासँग सहकार्य गरेका पोखरेल अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा काम गरिरहेका छन्, जसले निरन्तरताको संकेत गर्दछ।

फिल्म ‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा देखिँदै छन्। सामाजिक यथार्थ, गहिरो भावना र सशक्त कथावस्तुमा आधारित यो फिल्म वैशाख ११ गते प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा भिएफएक्स समीर मिया र सत्यम रानाले गरेका छन्। टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्।

फिल्मको पाश्र्वसंगीत किरण तुलाधरले तयार पारेका छन् भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्। फिल्मका निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल हुन्।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। ‘यात्रा’पछि लामो समय पर्दाबाट टाढा रहेका सुशील पोखरेलको यो फिर्ती केवल एउटा फिल्म मात्र नभई अनुभव, विश्वास र फिल्मप्रतिको समर्पणको पुनः प्रस्तुति मानिएको छ। अब दर्शकहरू ‘परालको आगो’ले कस्तो सफलता हासिल गर्छ भन्ने प्रतीक्षामा छन्।

कमेन्ट गर्नुहोस्