फिल्म । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ । सन् २०२३ मा भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा प्रिमियर भएको उक्त फिल्म ‘निफ’ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो ।
तिब्बती गोठालाहरूको जीवन र मानव वातावरणबीचको सहअस्तित्वको कथामा आधारित यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । ‘सिजाङ पानोरमा’ अन्तर्गत शनिबार अन्य तीन फिल्म ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ पनि प्रदर्शन गरिएका छन् । यी तीनै फिल्म भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् ।
गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक चुनौती सामना गर्ने एक युवकको कथा प्रस्तुत गर्छ । ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ का निर्देशक ज्याक मालाटेरे हुन् । यस फिल्मले शैक्षिक मुद्दा उठान गरेको छ ।
सियाओ सियाओवाईको निर्देशनमा बनेको ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनलाई उजागर गरेको छ । यस पानोरमा अन्तर्गत आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ पनि प्रदर्शन हुनेछन् । ‘निफ’ अन्तर्गतको ‘सिजाङ पानोरमा’ प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो ।
शनिबार ‘निफ’मा प्रतिस्पर्धामा रहेका फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा पनि प्रदर्शन गरिएका छन् । यसैबीच, पर्यटन बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ नयाँ तथा युवा लेखकहरूले आफ्ना कथा निर्मातासमक्ष प्रस्तुत गरेका थिए ।










