फिल्म । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’को औपचारिक उद्घाटन गरिएको छ । कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान आयोजित कार्यक्रममा नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर तथा चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा उद्घाटन सम्पन्न भएको हो ।
मिनिस्टर काउन्सिलर सक्साएबले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा फिल्मको प्रभाव विशेष हुने उल्लेख गरे । उनले फिल्म उद्योगमा आबद्ध व्यक्तिहरूबीच सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, रसियन फिल्म डेजले यस दिशामा निरन्तर प्रयास गरिरहेको उनको भनाइ थियो । उनले निफको नवौं संस्करणको उद्घाटनका क्रममा नेपालको पहिलो रङ्गीन फिल्म ‘कुमारी’सँग सम्बन्धित निर्देशक, नायिका र छायाकारसँग भेटघाट गरेको अनुभवसमेत साटे ।
नेपाल र रूसबीचको ७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा निफसँग रसियन फिल्म डेजको सहकार्य विशेष अर्थपूर्ण रहेको सदस्य सचिव काफ्लेले बताए । उनले कार्यक्रम सफलताको शुभकामना पनि व्यक्त गरे ।
कार्यक्रमकी सह सभाध्यक्ष अनास्थासिया खक्खलोभाले निफ र रसियन हाउसको सहकार्यमा भइरहेको फिल्म महोत्सव तथा सोही स्थलमा सञ्चालन भइरहेको एआई फिल्म कार्यशालामा सहभागी हुन सबैलाई आग्रह गरिन् । निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य दिँदै रसियन फिल्म डेजसँगको सहकार्यले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उद्घाटन सत्रमा ऐतिहासिक तथा थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ प्रदर्शन गरिएको थियो । दोस्रो विश्वयुद्धको अन्तिम चरणका घटनामा आधारित यस फिल्ममा सोभियत रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्म इल्या लेबेदेव र निकिता वैसोत्स्कीले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
रसियन फिल्म डेज अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुनेछन् । क्लिम शिपेन्कोद्वारा निर्देशित ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेशनमा पुगेर बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहसिक कथामा आधारित यस फिल्ममा शून्य गुरुत्वाकर्षणमा गरिएको शल्यक्रियाले विशेष आकर्षण थपेको छ ।
त्यस्तै, म्याक्सिम भोल्कोभद्वारा निर्देशित ‘द डिनो प्यामिली’ एडभेन्चर र पारिवारिक कथामा आधारित फिल्म हो, जसमा एक किशोरी डाइनोसर युगमा पुगेर जीवनरक्षाका लागि गरेको संघर्ष देखाइएको छ ।
इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को विषय उठाएको छ । १० कक्षामा अध्ययनरत एक किशोरीले आफ्नो मोटोपनका कारण अपमान भोगेपछि गर्ने विद्रोहको कथा यसमा प्रस्तुत गरिएको छ । उक्त फिल्महरू रसियन हाउसमा निःशुल्क रूपमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।










