कस्तो चल्दैछ ‘मालती मंगले’को गीत ‘ढुङ्गा माथि लेऊ’ ?

फिल्म । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ । यस फिल्मको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको चर्चित फिल्म ‘मोहब्बते’मा शाहरुख खान र काजोलको शैलीमा विजय र वर्षाले प्रस्तुत गरेको नृत्य रहेको छ। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार फिल्मको कथामा वर्षाको पात्रले विजयमा शाहरुखको छवि देख्ने भएकाले गीतमा त्यसको झल्को दिने प्रयास गरिएको हो ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको यस नृत्यप्रधान गीतमा रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको युगल स्वर रहेको छ। गीतमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत तथा रिकेश गुरुङको सङ्गीत संयोजन रहेको छ। गीतको भिडियो अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने कोरियोग्राफी रोशन बिकले गरेका हुन्।

प्रकु पाण्डेयको निर्देशनमा बनेको ‘मालती मंगले’ उनको पहिलो निर्देशकीय फिल्म हो। फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्। फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथै, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्