फिल्म । नयाँ वर्षको अवसर पारेर चैत २७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ यतिबेला चर्चामा छ । उक्त मितिमा रिलिज हुने भनिएका अन्य नेपाली फिल्महरू स्थगित भएपछि निर्देशक माइकल चन्दको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । त्यस्तै, फिल्मको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायत कलाकारहरूको अभिनय रहेको छ । यसैबीच, अभिनेत्री दिव्या रायमाझीले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म फिल्मलाई लिएर निकै उत्साहित छु । यसअघि गरेको कामभन्दा फरक भूमिकामा देखिँदै छु र आफ्नो अभिनय देखाउने पर्याप्त अवसर पाएको छु ।’
फिल्ममा आफू आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको उनले बताइन् । ‘फिल्ममा भरपूर एक्सन छ, तर यो एक्सन मात्र होइन। यसमा भावना, सस्पेन्स र प्रेम पनि छ। यी सबै तत्वले मिलेर फिल्मलाई विशेष बनाएको छ,’ उनले भनिन्।
दिव्याले फिल्म उत्कृष्ट बनेको दाबी गर्दै भनिन्, ‘यो मेरो फिल्म भएकाले मात्र भनेकी होइन, फिल्म साँच्चै राम्रो बनेको छ। दर्शकले हेरेर भरपूर मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वास छ।’
फिल्ममा दिव्या र सुशील श्रेष्ठको जोडी देखिएको छ। सुशीलसँग काम गर्न सहज भएको अनुभव पनि उनले सुनाइन् । निर्देशक माइकल चन्दकै पटकथा तथा संवाद रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।










