‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ

फिल्म । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले दर्शकबाट उल्लेखनीय साथ पाएको छ । युट्युबमा सार्वजनिक भएको छोटो समयमै उक्त गीतले ११ लाखभन्दा बढी भ्युज बटुलेको छ । फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको पहिलो गीतले एक साताभित्रै उल्लेखनीय दर्शक पाउन सफल भएपछि निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकप्रति आभार व्यक्त गर्दै गीतलाई माया र साथ दिएकोमा धन्यवाद दिएका छन्।

यो समाचार तयार पार्दासम्म गीतले २४ हजारभन्दा बढी लाइक र करिब १३ सयभन्दा बढी कमेन्ट प्राप्त गरेको छ। अधिकांश दर्शकले गीत र कलाकारको प्रशंसा गरेका छन्। कमेन्टहरूमा विशेषगरी तेरिया फौजा मगरको नृत्य र सौगात मल्लको फरक प्रस्तुतिको चर्चा गरिएको छ। यसअघि एकै खालका भूमिकाका कारण आलोचना खेप्दै आएका सौगात मल्ललाई यस गीतमा फरक रूपमा प्रस्तुत गरिएको भन्दै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। साथै, दयाहाङ राईको उपस्थितिले गीतलाई थप आकर्षक बनाएको टिप्पणीहरू पनि आएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देखाइएको छ। सौगात र तेरियाले लोकलयमा आधारित गीतमा गाउँले पहिरनमा नृत्य प्रस्तुत गरेका छन् भने दयाहाङलाई कथाअनुसार प्रस्तुत गरिएको छ।

गीतमा स्वर श्रीकृष्ण बम मल्ल र मेलिना राईको रहेको छ भने शब्द तथा संगीत पनि मल्लकै रहेको छ। मिङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको यस गीतलाई दर्शकले रुचाएका छन्।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्पादन लोकश बज्राचार्य र छायांकन शिशिर विषंखेको रहेको छ।

फिल्मको मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइन किशोर नेपालले गरेका छन् भने ड्रेस डिजाइन संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्रीको रहेको छ।

द्वन्द्व निर्देशन प्रभात विष्ट र साउन्ड डिजाइन नवीन श्रेष्ठले गरेका छन्। फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने स्वरमा मेलिना राई र लक्ष्मी मल्ल पनि रहेका छन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

कमेन्ट गर्नुहोस्