‘परालको आगो’ मा यस्ती छिन् सुहाना

फिल्म । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ ।

नारी दिवसको अवसरमा सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको निर्माण पक्षको भनाइ छ । पोस्टरमा सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी अभिनेत्री सुहाना थापाको भावपूर्ण मुद्राले दृश्यलाई जीवन्त बनाएको छ। उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको अनुभूति दिलाउँछ।

पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काएको छ। प्रकृतिको न्यानो प्रकाश र नरम रङ संयोजनले दृश्यलाई आकर्षक बनाएको देखिन्छ।

नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एकै फ्रेममा प्रस्तुत गरिएको पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत पनि दिन्छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।

निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको पनि अभिनय रहेको छ। हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन् । छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रङ संयोजन कनाल कँवरले गरेका छन्।

फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। फिल्मको पार्श्वसंगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपुतको छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।

कमेन्ट गर्नुहोस्