सौन्दर्य । ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा ललितपुरको भैँसेपाटीमा बिहीबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ । नयाँ शाखाको उद्घाटन अभिनेता आर्यन सिग्देल, अभिनेता अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा रिबन काटेर गरेका हुन् । उद्घाटन समारोहमा फिल्म पत्रकार, सौन्दर्यकर्मी तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकारहरूले लक्ष्मी ठाकुरको व्यावसायिक यात्राको प्रशंसा गर्दै नयाँ शाखाको सफलताको कामना गरे । सो अवसरमा बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को बाँकी छायांकनका लागि मुम्बई प्रस्थान गर्न लागेका अभिनेता अनुप विक्रम शाहीलाई आर्यन, केकी र लक्ष्मी ठाकुरले फूलगुच्छासहित शुभकामना दिँदै बिदाइ गरेका थिए ।
अभिनेता आर्यन सिग्देलले पनि आफू महाराजगन्ज, पुलचोक, कलंकीस्थित भाटभटेनी र कमलादीको स्काइ वाक शाखाबाट नियमित सेवा लिँदै आएको जानकारी दिए । अभिनेत्री केकी अधिकारीले कमलादीस्थित स्काइ वाक शाखाबाट नियमित सेवा र परामर्श लिँदै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले नेपाली फिल्म क्षेत्रमा हेयर स्टाइलको विकास र परिवर्तनमा लक्ष्मी ठाकुरको उल्लेखनीय योगदान रहेको बताइन् ।
उद्घाटन समारोहमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’का अध्यक्ष तथा लोकप्रिय हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरले दुई दशकअघि मुम्बईमा हेयर ड्रेसरका रूपमा काम गरेको अनुभव सुनाउँदै नेपाल फर्किएपछि काठमाडौंमै स्टुडियो सञ्चालन गरेको बताए । उनले भैँसेपाटी क्षेत्रमा तीव्र सहरीकरणसँगै सौन्दर्य सेवाको माग बढ्दै गइरहेको सन्दर्भमा नयाँ शाखा सुरु गरिएको जानकारी दिए ।
लक्ष्मीले दुई दशक लामो संघर्ष, सेलिब्रेटी तथा ग्राहकको विश्वास र परिवारको साथले आज यो सफलता हासिल गरेको बताए । उनले निकट भविष्यमा टंगाल र भाटभटेनी क्षेत्रमा पनि नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उद्घाटनको अवसरमा नयाँ शाखामा उपलब्ध सम्पूर्ण सेवामा विशेष छुटको व्यवस्था गरिएको पनि उनले बताए ।
स्टुडियोकी प्रबन्ध निर्देशक शान्ति पुरी ठाकुरले यो पेसामा लक्ष्मी ठाकुरलाई आफ्नो पूर्ण साथ रहेको उल्लेख गर्दै दुवैको संघर्ष र दक्ष कर्मचारीहरूको मेहनतले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सुन्दरताको उत्कृष्ट गन्तव्य बनेको बताइन् ।










