‘आ बाट आमा’ हेर्ने दर्शक बढ्दै

फिल्म । गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले देशभरका अधिकांश हलमा दर्शकको उल्लेख्य साथ पाएको छ । मंगलबार दाङ, धनगढी, पोखरा, धरान लगायत विभिन्न स्थानका हलमा दर्शकको भिड बढेको छ ।

आमा बुबा र छोराबीचको भावनात्मक सम्बन्ध तथा परदेशी जीवनको पीडालाई केन्द्रमा राखिएको फिल्मले दर्शकलाई भावुक बनाएको निर्माण टिमको भनाइ छ । फिल्मले प्रदर्शनको दशौँ दिनसम्म ५ करोड हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ ।

फिल्मले पछिल्लो समय सुस्ताएको नेपाली फिल्म बजारमा उल्लेख्य दर्शक तान्न सफल भएको बताइएको छ । देशभरका अधिकांश हलमा हाउसफुल रहेको फिल्मले आगामी दिनमा अझै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यसैबीच अभिनेता पल शाह, सिम्रन पन्त, उषा उप्रेती लगायत निर्देशक चन्द्र पन्तको टिम विभिन्न जिल्ला पुगेर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको छ । हाल टिम दाङ र नेपालगन्जका हलमा दर्शक भेटघाटमा सहभागी भइरहेको छ ।

चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली र रचना गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ ।

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा संवाद लेखन अभिमन्यू निरवीको रहेको छ भने अमर न्यौपाने र निर्देशक चन्द्र पन्तले सहकार्य गरेका छन्।

फिल्मका गीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ भने कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। ट्रेलर र टिजर साहिल खानले तयार गरेका छन् भने वितरण आरआर फिल्म्सले गरेको छ। डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

कमेन्ट गर्नुहोस्