सङ्गीत । अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय फिल्मभन्दा म्युजिक भिडियोमा बढी व्यस्त देखिएका छन् । उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि उनी रुपेश तामाङ निर्देशनमा निर्माण हुने एक अनटाइटल फिल्ममा अनुबन्धित भएका छन् ।
यद्यपि, पछिल्लो समय उनका केही म्युजिक भिडियो सार्वजनिक भइरहेका छन्। ती भिडियोमध्ये अधिकांशमा उनको जोडी अभिनेत्री करुणा श्रेष्ठसँग देखिँदै आएको छ। यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ हालै सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा सुरज राज खत्रीको शब्द रचना, संगीत र स्वर रहेको छ। भिमफेदी गाइजका निर्मल कुमार लामाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा आकाश र करुणालाई रोमान्टिक अवतारमा नृत्य गर्दै गरेको दृश्य समेटिएको छ।
आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो निर्माता किरण आले मगर हुन् भने प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेका छन्। भिडियोको छायांकन, सम्पादन र कलर पवन सुस्लिङले गरेका छन्।










