फिल्म । गएको माघ ९ गते शुक्रबारदेखि प्रदर्शनरत फिल्म एक्सन फिल्म ‘परिवर्तन’ ले सुरुआती व्यापार राम्रो गर्न सकेको छैन । उक्त फिल्मले रु ३१ लाख ९ हजार ९२५ आम्दानी गरेको छ । गएको माघ १७ गते शनिवारसम्म फिल्मले ११ हजार ६ वटा टिकट बिक्री गर्न सफल भएको छ । फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ ।
दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ का निर्माता दीपक सिवाकोटी हुन् । निर्माता सिवाकोटीकै कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् ।
एक्सन सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा बन्दे प्रसाद को सम्पादन, रामजी लामिछाने को कोरियोग्राफी र एसडी योगी को संगीत रहेको छ । यसैगरी, फिल्ममा श्री श्रेष्ठ को द्वन्द्व निर्देशन देख्न सकिनेछ । पछिल्लो समय द्वन्द्व निर्देशकका रूपमा चर्चामा रहेका श्रेष्ठको कामको प्रशंसा हुँदै आएको छ । फिल्मको वितरण आरआर फिल्म्स ले गरेको हो भने ओएसआर डिजिटल ले सहकार्य गरेको छ ।










