तारादेवीको सम्झनामा कार्यक्रम

सङ्गीत । नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त विशेष समारोहको सुरुआत अमर गायिका तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उहाँका कालजयी गीत, नेपाली संगीतमा पुर्‍याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो। त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारा देवीको कला र सिर्जनालाई स्मरण गरियो।

प्रत्यक्ष संगीत प्रस्तुतिका क्रममा तारा देवीका सदाबहार गीतहरू गुञ्जिँदा कार्यक्रमस्थल भावुक वातावरणले भरिएको थियो। उहाँका गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उहाँको संगीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएको थियो।

समारोहमा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अतिथिहरूले तारा देवी नेपाली संगीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गर्नुभएको थियो।

यसै अवसरमा नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका संगीता राना प्रधान रहनुभएको थियो। सम्मान ग्रहण गर्दै स्रष्टाहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो।

आयोजक संस्था तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले तारा देवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उहाँका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताउनुभयो। यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीतसंगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमले तारा देवीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली संगीतको इतिहास र यसको निरन्तरताबारे सोच्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

कमेन्ट गर्नुहोस्