सौन्दर्य । जर्जियाको राजधानी तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डिसए स्टार सिजन–१६’ अन्तर्गत डान्सिङ विधाकी विजेता समृद्धिले ७ देखि १० वर्ष उमेर समूहमा विश्वका ४० भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । समृद्धि काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा अध्ययनरत छिन् ।
प्रतियोगितामा समृद्धिसँगै सहभागी ‘डिसए स्टार सिजन–१५’ का विजेता प्रनिक थापाले ‘ग्रान्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जितेका छन् । प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । प्रतियोगिता जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले समृद्धि र प्रनिकलाई प्रतियोगितामा सहभागी गराएको हो । उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए । प्रतियोगिताका क्रममा बराइलीले ‘सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक’को अवार्ड प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपाली सहभागीहरूले नेपाली कला, संस्कृति प्रस्तुत गर्नुका साथै नेपालको मौलिक खानाको प्रदर्शनी पनि राखेका थिए । परिवर्तन इभेन्ट हाउसले यसअघि पनि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गराइसकेको छ । ती दुवै संस्करणमा नेपाली बालबालिकाले विश्व उपाधि जितेका थिए ।










