किन रोकियो विजयको अन्तिम फिल्म ‘जना नायकन’ को प्रदर्शन ?

फिल्म । भारतीयअभिनेता विजय अभिनीत तमिल फिल्म ‘जना नायकन’ को प्रदर्शन स्थगित गरिएको छ । ठूला बजेटमा निर्माण भएको फिल्मका निर्माताले बुधबार राति औपचारिक रूपमा प्रदर्शन मिति सारिएको जानकारी दिएका हुन् । मद्रास उच्च अदालतले ‘जना नायकन’लाई ‘यू/ए १६+’ वर्गअन्तर्गत सेन्सर प्रमाणपत्र दिन निर्देशन माग गरिएको निवेदनमाथि आदेश सुरक्षित गरेपछि यो निर्णय सार्वजनिक गरिएको हो । अदालतको सुनुवाइ सकिएको केही घण्टामै फिल्मको प्रदर्शन स्थगनको घोषणा गरिएको थियो ।

बुधबार राति केभीएन प्रोडक्सन्सले विज्ञप्ति जारी गर्दै दर्शकको उत्सुकता, भावना र अपेक्षा आफूहरूले बुझेको उल्लेख गरेको छ । तर नियन्त्रण बाहिरका कारणले जनवरी ९ मा प्रदर्शन हुने भनिएको ‘जना नायकन’ स्थगित गर्नुपरेको जनाइएको छ । निर्माण पक्षका अनुसार यो निर्णय सजिलो नभए पनि आवश्यक थियो । नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने बताइएको छ । साथै, दर्शक र सरोकारवालाबाट धैर्य र निरन्तर समर्थनको अपेक्षा गरिएको छ ।

तमिलनाडुको राजनीतिक दल तमिलगा वेत्री कझगम (TVK) का अध्यक्षसमेत रहेका विजयले आगामी मार्च–अप्रिलमा हुने प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। ‘जना नायकन’लाई विजयको अभिनय करिअरको अन्तिम फिल्मका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्