फिल्म । भारतका दुई ठूला स्टार सलमान खान र आलिया भट्ट अभिनित फिल्महरू एकै मितिमा प्रदर्शन हुने भएका छन् । सलमान खानको बहुप्रतीक्षित फिल्म ‘ब्याटल अफ गल्वान’ र आलिया भट्टको फिल्म ‘अल्फा’ आगामी १७ अप्रिल २०२६ मा एकसाथ रिलिज हुने तय भएको हो ।
सलमान खान अभिनित ‘ब्याटल अफ गल्वान’ सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच भएको गल्वान उपत्यकाको झडपमा आधारित रहेको छ । फिल्ममा सलमानसँगै चित्रांगदा सिंहको पनि मुख्य भूमिका रहेको छ । देशभक्ति र युद्धको पृष्ठभूमिमा बनेको यो फिल्मलाई लिएर दर्शकमाझ ठूलो उत्साह देखिएको छ ।
यस्तै, आलिया भट्ट अभिनित ‘अल्फा’ यशराज फिल्म्सको स्पाइ युनिभर्सअन्तर्गत निर्माण गरिएको फिल्म हो । यो फिल्म आलियाको करिअरको महत्वपूर्ण प्रोजेक्टका रूपमा हेरिएको छ, जहाँ उनी एक सशक्त र फरक अवतारमा देखिने अपेक्षा गरिएको छ । ‘अल्फा’ मा एक्सन र थ्रिलरको संयोजन रहने बताइएको छ ।
एकै मितिमा दुई ठूला स्टारका फिल्म प्रदर्शन हुने भएपछि बक्सअफिसमा कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । सलमान र आलिया दुवैका फ्यानहरू आ–आफ्ना फिल्मप्रति उत्साहित छन्। बलिउड बजारमा १७ अप्रिल २०२६ लाई अहिले नै ‘क्ल्यास डे’ का रूपमा हेरिन थालिएको छ ।










