सङ्गीत । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलोपटक ‘न्यु इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुने भएको छ। चर्चित पञ्जाबी गीत ‘सुनियान सुनियान’ का गायक मिक्ससिंह जस यस कार्यक्रमका लागि बिहीबार नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनको जानकारी दिन बिहीबार साँझ लाजिमपाटस्थित होटल मनास्लुमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
सम्मेलनमा मिक्ससिंह जसले नेपाली दर्शकमाझ प्रस्तुति दिन पाउँदा आफू निकै उत्साहित रहेको बताए । उनका अनुसार शनिबार साँझ ठमेलस्थित क्लब नोभामा आयोजना हुने कार्यक्रममा करिब चार घण्टासम्म उनले दर्शकलाई झुमाउनेछन् । कार्यक्रममा पञ्जाबी भाङ्गडा नृत्यसहित १० वटा लाइभ प्रस्तुति रहने जानकारी दिइएको छ ।
यस पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको हो । कार्यक्रमका लागि सामान्य दर्शकका लागि एक हजार रुपैयाँ, भिआइपीका लागि दुई हजार रुपैयाँ तथा ग्रुप टिकट पाँच हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटनप्रति आफू आकर्षित भएको बताउँदै आफ्नो नेपाल भ्रमण विशेष रहने उल्लेख गरे । उनले भने, ‘मेरो सुपरहिट गीत ‘सुनियान सुनियान’ मा करिब ३० प्रतिशत प्रतिक्रिया नेपाली फ्यानबाट आएको थियो। यही कारणले पनि मलाई नेपाल आउने इच्छा बढ्यो ।’
उनका अनुसार तीन दिनको नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शन, काठमाडौँका पुरातात्विक सम्पदा अवलोकन तथा सगरमाथा बेस क्याम्प घुम्ने योजना रहेको छ। ‘मौसमले साथ दियो भने सगरमाथा हेर्ने मेरो सपना पूरा हुनेछ’, उनले भने ।
मिक्ससिंह जसले आफूले थुप्रै नेपाली गीतहरू सुन्दै आएको र नेपाली संगीतप्रति पनि झुकाव बढ्दै गएको बताए । उनले आगामी दिनमा नेपालमै आफ्नो गीतको छायांकन गर्ने, साथै सम्भव भए नेपाली संगीतकार तथा गायक-गायिकासँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरे । संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिन आफू तयार रहेको उल्लेख गर्दै उनले संगीत नै त्यसका लागि सबैभन्दा प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरे ।








