फिल्म । अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका छन् । आउँदो शुक्रबार देशभर प्रदर्शनमा आउने यो फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ।
फिल्मको प्रमोसनका लागि नेपाल आएका अभिनेता पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारण र अष्ट्रेलियाको व्यस्त दिन चर्यामाझ सुटिङ गरेको अनुभवबारे बताएका छन्।
‘अष्ट्रेलियामै शोभित (निर्देशक शोभित बस्नेत) सरले अडिसन लिइरहनुभएको रहेछ । उहाँकी छोरी सलिना बस्नेतले अडिसनबारे जानकारी दिइन् । अभिनय गर्ने मन पहिल्यैदेखि भएकाले अडिसन दिएँ र चयन भएँ’, अभिनेता पौडेलले भने ।
अडिसनपछि निर्देशक बस्नेतसँग भएको संवाद स्मरण गर्दै पौडेल भन्छन्, ‘सरले ‘अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर’ भन्नुभयो । रातमै स्क्रिप्ट पठाइदिनुभयो । कथाको ९९ प्रतिशत भाग अष्ट्रेलियाका विद्यार्थीको वास्तविक जीवनसँग मिल्दोजुल्दो रहेकाले फिल्ममा आवद्ध हुन मन लाग्यो ।’
डेब्यु फिल्म भए पनि निर्देशक बस्नेतको निर्देशनका कारण सबै काम सहज बनेको उनको अनुभव छ । ‘अनुभवी निर्देशकसँग काम गर्दा आत्मविश्वास बढ्छ। उहाँले सहज वातावरण सिर्जना गरिदिनुभएको थियो’, पौडेल भन्छन्।
अष्ट्रेलियामा एकै साथ पढाइ, काम, मोडलिङ र क्रिकेटमा व्यस्त रहे पनि निर्देशक बस्नेतले सबै कलाकारको समय मिलाएर तालिका तय गरिदिएकाले सुटिङ सहज भएको उनले बताए । अभिनयका लागि यसअघि पनि विभिन्न वर्कसप र क्लास लिइसकेका पौडेल भन्छन्, ‘आधारभूत तयारी भएकाले फिल्ममा अभिनय गर्न सजिलो भयो ।’
आगामी योजनाबारे उनले भने, ‘अष्ट्रेलियामै भए पनि काम आयो भने नेपाल आउन समस्या छैन। ‘पीआर’का कारण अहिले नेपाल आएको हुँ। यसपछि पनि दर्शकले मलाई अन्य फिल्ममा हेर्न पाउनुहुनेछ ।’
फिल्ममा अभिनेता पौडेलसँगै विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । बन्दे प्रसादको सम्पादन रहेको फिल्मको ट्रेलर पनि उनले नै तयार पारेका हुन् । फिल्मको कथा गणेश बुढाथोकीले लेखेका छन् ।
फिल्मलाई सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका छन् । फिल्मका गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको पीआर को वितरण आरआर फिल्म्सले गरिरहेको छ ।








