देश । वाचनकला मार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका देवी प्रतिभाको अमेरिका कथा वाचन यात्रा तय भएको छ । ‘वेलडन क्रियसन्स’को आयोजनामा सन् २०२६ को मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा ‘देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा’ हुने भएको हो ।आयोजकका अनुसार उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरूमार्फत भगवान श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउनेछिन् ।
अमेरिका यात्रा तय भएसँगै देवी प्रतिभाले आफ्नो भावना व्यक्त गरेकी छन्। उनले भनिन्, ‘कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो । जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छ । म अमेरिकामा रहेका नेपाली तथा भारतीय आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग कथा वाचन, भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।’
देवी प्रतिभाले पछिल्ला वर्षहरूमा नेपाल र भारत लगायतका देशहरूमा प्रभावशाली प्रवचन प्रस्तुत गर्दै आएकी छन् । आध्यात्मिक गहिराइ, प्रेम र दर्शनसहितको उनको कथा वाचन शैली नेपाल र भारतमा निकै लोकप्रिय मानिन्छ । अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया, यूटा, नर्थ क्यारोलिना, इलिनोइस लगायतका राज्यहरूमा प्रवचन दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
देवी प्रतिभाको ‘अमेरिका कथा वाचन यात्रा २०२६’ लाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको छ ।







