स्वीडेन र स्पेन अन्तिम १६ मा

खेलकुद । युरो कप २०२० मा बुधवार राति समुह चरणको अन्तिम खेलमा समुह ‘इ’ बाट स्वीडेन विजेता बन्दै र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । पोल्यान्डमाथि ३-२ को जित निकालेको स्वीडेन समूह ‘ई’को विजेता बनेको हो । बुधबार सेन्ट-पिटर्सबर्गमा भएको खेलको दोस्रो मिनेटमा एमिल फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको स्वीडेनका लागि फोर्सबर्गले पुन: ५९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

दुई गोलले पछिपरेको पोल्यान्ड स्टार कप्तान रोबर्ट लेवान्डोस्कीले गरेको दुई गोल मद्दतमा बराबरीमा पुगेको थियो । लेवान्डोस्कीले ६१ र ८४औं मिनेटमा गोल गरेका थिए । तर, इन्जुरी समयमा भिक्टोर क्लाइस्सनले गोल गर्दै स्वीडेनको जित सुनिश्चित गरे । स्वीडेनले ए,बी,सी,डीमध्ये एक समूहबाट उत्कृष्ट नतिजासहित तेस्रो हुने टोलीसँग अन्तिम १६ मा खेल्नेछ ।

यस्तै , सुरुवाती खेल देखि आफ्ना समर्थकलाई निराश बनाउदै आइरहेको टीम स्पेनले बुधवार राति भने राम्रो प्रदर्शन गरेको छ । समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलको फराकिलो नतिजामा पराजित गर्दै स्पेन युरो २०२० को अन्तिम १६ मा पुगेको हो । स्पेनको सेभियामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाब्लो साराबिया, फेरान टोरेस र आयमेरिक ल्यापोर्टले एक-एक गोल गरे ।

बाँकी दुई स्लोभाकियाका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको १२औं मिनेटमा पेनाल्टी पाएको स्पेनका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने मौका गुमाएका थिए । तर, ३०औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले गरेको आत्मघाती गोलसँगै स्पेनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा थप आक्रामक बनेको स्पेनका लागि ५६औं मिनेटमा साराबियाले तेस्रो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टोरेसले पहिलो टचमै ६७औं मिनेटमा स्पेनका लागि चौथो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै पाउ टोरेसको प्रहारमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्