‘मन बिनाको धन’ लाई प्रदर्शकले हेपेको भन्दै टंकले लेखे भावुक स्टाटस

फिल्म । आगामी शुक्रबार (कात्तिक २१) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मन बिनाको धन’ लाई प्रदर्शकले नपत्याको भन्दै निर्देशक तथा सङ्गीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालमा गुनासो गरेका छन् । प्रदर्शक तथा हल सञ्चालकहरूले कम शो दिएको वा कतिपय ठाउँमा शो नदिने निर्णय गरेपछि उनले स्टाटस लेखेका हुन् ।

‘म हार्दैछु, मलाई हराउन धेरै लागे, सधै लागे, ठिकै छ । सिनेमाघर सञ्चालकहरूले मन बिनाको धनलाई नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ’, टंकले लेखेका छन्,’म हार्दैछु, मसँगै अशोक पनि हार्दैछन् ।’

उनले फिल्म प्रदर्शन नहुँदै प्रदर्शकले कम्जोर आकलन गरेको प्रति दुखेसो व्यक्त गर्दै ‘न्याय तपाईंहरूकै हातमा छ’ लेख्दै दर्शकलाई अपिल गरेका छन् । यो फिल्म बाल गायक अशोक दर्जीको वास्तविक जीवन कथामा आधारित छ । बाटोमा गीत गाउँदै माग्दै हिँड्ने दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाउन लगाएका थिए । यो गीतले दर्जीको जीवन परिवर्तन गरेको थियो । हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत अशोकले नै फिल्ममा मुख्य भूमिका निभाएका छन् ।

फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय छ । टंक बुढाथोकीकै संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन छ । कथा टंक बुढाथोकीकै रहेको छ भने पटकथा तथा संवाद शिवम अधिकारीको हो ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । मङ्गलबार नै यो फिल्म सेन्सर पास भई ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्