फिल्म । फिल्म ‘परान’ को बुकिङ खुला भएको छ । शुक्रबार (कात्तिक १४) बाट प्रदर्शनमा आउने यो फिल्मले देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्मित यो फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ र आज साँझसम्म थप शोहरू जोडिने सम्भावना छ ।
भावनात्मक पारिवारिक कथानक बोकेको ‘परान’ नेपाली बक्स अफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने अपेक्षा गरिएको छ । दीपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको यो फिल्ममा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बालकलाकार आर्यादीप आचार्यको अभिनय छ ।
फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको संगीत छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको फिल्मको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन् । प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी र समर चौलागाईं छन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन् ।










