फिल्म । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ को सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् । सडक बालक अशोक दर्जीको सांगीतिक सफलतासम्मको यात्रालाई भावनात्मक र सूक्ष्म ढंगले प्रस्तुत गरिएको उक्त फिल्मले वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाएको छ ।
सडकमा गीत गाउँदै हिँड्ने अशोकलाई टंक बुढाथोकीले साथमा राखेर उनको जीवन परिवर्तन गरेको कथा फिल्ममा समेटिएको छ । हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत अशोकको पेरिफेरीमा आधारित यो फिल्म सामाजिक विषयवस्तुमा केन्द्रित छ । टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको फिल्मको कथा उनैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा विष्णुमाया मैनालीले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्माता सपना शर्मा (सपना) हुन्। जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता छन् भने टिकाराम बुढाथोकी क्रिएटिभ निर्देशकको भूमिकामा छन् ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोलको अभिनय छ ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले फिल्म वितरण गर्नेछ ।










