फिल्म । आगामी कात्तिक २१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाजा बजाउने पात्रको रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले छोरीको जाय जन्मपछि दयाहाङ र मिरुना मगरका पात्रबीच उत्पन्न हुने फाटो र भावनात्मक कथालाई उजागर गरेको छ । साथै, विजय बरालको प्रभावशाली भूमिका र डार्क ह्युमरले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
सार्वजनिक ३ मिनेट ५२ सेकेन्डको ट्रेलरले यो सिक्वेल पहिलो भागभन्दा रोमाञ्चक र कौतूहलपूर्ण हुने संकेत गरेको छ । उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालसँगै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको ‘जारी २’ लाई यो वर्षको सर्वाधिक व्यापार गर्ने फिल्मको रूपमा हेरिएको छ । गत वर्ष ‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी व्यापार गरी ब्लकबस्टर बनेको थियो । त्यसैले यो सिक्वेलप्रति दर्शकको अपेक्षा उच्च छ ।










